भोजपुरमा चार दिनमा खोलाले दुई जना बगायो

Posted on: 13 Sep, 2017

भदौ २८, भोजपुर। पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । 

चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो । 

दर्जीलाई आइतबार दिनको ४ बजेतिर खेत गोडेर फर्किने क्रममा कान्ले खोलाले बगाएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ भने तामाङलाई बिहीबार सदरमुकाम नजिकैको छङ्छङ्गे खालाले बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

दुवै मृतकको शव परीक्षण गरी आफन्तको जिम्मासमेत लगाइसकिएको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!