कागबेनी दुर्घटनाका घाइते काठमाडौँ पठाइयो

Posted on: 04 Oct, 2017

असोज १८, मुस्ताङ (रासस) । तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई आज बिहान काठमाडौँ पठाइएको छ । 

दुर्घटनामा घाइते भएका २० जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो । 

उहाँकाअनुसार दुर्घटनामा ज्यान गुमाएका विराटनगर–८ का गणेश सुवेदी र कीर्तिपुर–१२ का शर्मिला दुलालको शव पनि आफन्तको जिम्मा लगाएर हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । 

मृतक सवारी चालक बागलुङका खेमबहादुर बुढामगरको शव भने जिल्ला अस्पताल मुस्ताङमै राखिएको छ । “आफन्त आएपछि बागलुङ पठाउने तयारी भइरहेको छ”, प्रनाउ पाण्डेले भन्नुभयो । 

मुक्तिनाथ दर्शन गरी जोमसोम फर्कंदै गरेको ग१ ख५५२९ नम्बरको बस ‘बे्रकफेल’ भई दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए । 

मंगलबार साँझ नै थप उपचारका लागि पठाउनुपर्ने भए पनि हेलिकप्टर सम्भव नभएकाले बिहानमात्रै पठाइएको प्रहरीले जनाएको छ । “घाइते सबै खतरामुक्त छन्”, प्रनाउ पाण्डेले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!