आचार संहिता पालना गर्नुपर्छ: गोविन्द आचार्य

Posted on: 30 Oct, 2017

सागर रिजाल/कात्तिक १३, प्यूठान । पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचार संहिता पालना गर्न सवै पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । 

प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ प्यूठानको संयोजनमा सोमबार भएको कार्यक्रममा पत्रकार आचार संहिताले समग्र पत्रकार र सञ्चार क्षेत्रको गुणस्तरीयता कायम राख्ने बताउनुभएको हो । 

उहाँले नजिकिदै गरेको निर्वाचनलाई मध्यनजर गरि पत्रकार आचार संहिता पालना गर्न सचेत बन्न आग्रह गर्नुभएको हो । पत्रकार महासंघले केन्द्रमा निर्वाचन आयोगसँग पहल गरि पत्रकारहरुलाई निर्वाचन सम्वन्धि तालिम दिने व्यवस्था मिलाएको उहाँको भनाई छ । ‘जिल्ला तहमा पनि तालिम गर्न आग्रह गरेका छौं,’ उहाँले भन्नुभयो,‘यसले पत्रकारहरुको क्षमतामा विकास हुन्छ ।’


प्रेस काउन्सिलका सदस्य समेत रहनुभएका आचार्यले काउन्सिलले नियमित रुपमा पत्रकार र सञ्चारमाध्यमको अनुगमन गरिरहेको बताउनुभयो । पछिल्लो समय आधुनिक तरिकाले रेडियो, टेलिभिजन, अनलाईनहरुको अनुगमन गर्ने व्यवस्था गरिएको समेत उहाको भनाई छ ।

अध्यक्ष आचार्यले सञ्चारसँग सम्वन्धित निकाय काठमाण्डौमै सीमित हुँदा पत्रकार र सञ्चारमाध्यमले दुःख पाएको उहाँले बताउनुभयो । उहाँले  प्रेस काउन्सिल, सूचना विभागलाई प्रदेश स्तरमा समेत स्थापना गरिनुपर्नेमा जोड दिनुभयो । 

‘मोफसलका पत्रकार रातो कार्ड बनाउन पनि काठमाण्डौं जान बाध्य छन,’ उहाँले भन्नुभयो,‘पत्रिका वर्गिकरणको काम पनि अव जिल्ला वा प्रदेशबाट हुनुपर्छ ।’ त्यसको लागि महासंघले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य संगीता खड्का, पत्रकार महासंघ मलेसियाका संस्थापक अध्यक्ष रमेश तिवारी, पत्रकार महासंघ पाँच नम्वर प्रदेश संयोजक बसन्त गिरी, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको उपस्थिती रहेको थियो । 

पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एलवी थापा र सञ्चालन सचिव विजयसिंह भारतीले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!