सगरमाथाको उचाइ नाप्ने काम शुरु

Posted on: 02 Nov, 2017

कात्तिक १६, सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु भएको छ । नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो । 

सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले स्थलगतरुपमा प्रारम्भिक चरणको काम शुरु गरेको छ । विभागका अधिकृतसहित तीन जनाको टोली खटाएर गत बुधबारदेखि काम थालनी गरिएको हो । 

यही कात्तिक ७ गते सोलुखुम्बु आएको टोलीले भारतीय सर्वेक्षकले करिब ६० वर्ष अघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको छ । सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई÷दुई स्थानमा उक्त बिन्दु राखिएको बताइएको छ । 

टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ भने बाँकी खोज्नेक्रम जारी रहेको जनाएको छ । तत्काल जाडो बढेकाले अन्य थप काम गर्न नसक्ने भएपछि आजै उक्त टोली काठमाडौँ फर्किएको छ । 

दुई वर्षसम्म काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम शुरु गरेको विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिनुभयो । करिब ६० वर्षअघि भारतीय सर्वेक्षण टोलीले सगरमाथाको उचाइ नापेपछि पुनः उचाइ नाप्ने काम भएको थिएन । २०७२ को भूकम्पपश्चात सगरमाथाको अवस्था पत्ता लगाउनका लागि पनि उचाइ मापन गर्न लागिएको अधिकृत डंगोलले बताउनुभयो । 

बाह्र वटा बिन्दुमा लेभलिङ राखिने र सगरमाथाको चुचुरोमा जिपिएस सर्वेक्षण राखेर उचाइ मापन गरिने छ । उचाइ मापनका लागि विभागले सम्पूर्ण खाका तयार पारिसकेको बताइएको छ । प्रारम्भिक चरणको प्रतिवेदन तयार भएपछि सर्वेक्षक, विज्ञसहित अन्तर्राष्ट्रियस्तरको गोष्ठीमा थप छलफल हुने र गोष्ठीबाट स्वीकृत भएपछि मात्र उचाइ मापनले मान्यता पाउने छ । 

भारतीय सर्वेक्षक समूहले सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर भएको पुष्टि गरेको थियो । तर भूकम्पलगायतको कारण सगरमाथाको उचाइ घट्बढ भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालले गर्न लागेको यो सर्वेक्षणबाट उत्पन्न शंकाउपशंका हट्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!