फेसबुकमार्फत ५२ लाख ठगी गर्ने सिन्धुपाल्चोकका एक व्यक्ति पक्राउ

Posted on: 14 Dec, 2017

मङ्सिर २८, काठमाडौँ । महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । 

महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो । 

तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी रु २१ लाख ठगी गरेका थिए । 

तामाङले यसअघि फेसबुकमार्फत साथी बनाई लेबनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङसँग (डिपेन्डेन्ट भिसा) आश्रित प्रवेशाज्ञामा अमेरिका लैजाने भनी रु नौ लाख, सञ्जय दोङ, मिम लामा र कुशुम लामालाई क्यानडा लैजाने भनी रु २२ लाख ठगी गरेका थिए । 

तामाङले उक्त ठगी मुद्दामा विसं २०७३ साउन महिनामा पक्राउ गरी कारबाही भएकामा केही समय थुनामा बसी धरौटीमा छुटेपश्चात् पुनःठगी धन्दा शुरु गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!