आयुर्वेद अस्पतालमा स्वस्थ्य जीवन कार्यक्रम

Posted on: 19 Dec, 2017

पुस ४, तिलोत्तमा (रुपन्देही) (रासस) | लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ । 

सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ । स्वस्थ्य जीवन कार्यक्रम शुभारम्भमा सहभागी रुपन्देही क्षेत्र नं २ प्रदेशसभा सदस्य लीला गिरीले अञ्चल आयुर्वेद अस्पताललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाउनुभयो । अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले यस क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा दिलाउन अस्पताल सक्रिय हुनुपर्ने बताउनुभयो । 

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा रमेश केसीका अनुसार विशेष गरी नसर्ने रोगबाट बच्ने उपायका बारेमा जोड दिइनेछ । 

पतञ्जलि योग समिति लुम्बिनीका अध्यक्ष एवं स्वस्थ्य जीवन कार्यक्रमका संयोजक विष्णुहरि आचार्यले सो कार्यक्रमअन्तर्गत हरेक दिन बिहान ६ देखि ७ः३० बजेसम्म योग र स्वस्थ्य जीवनशैलीका बारेमा प्रशिक्षण दिइने जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रममा सहभागीको रक्तचाप र मधुमेह परीक्षण गरिनाका साथै शिलाजीत खुवाइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!