गोरखामा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर नागरिकता दिइयो

Posted on: 29 Dec, 2017

पुस १४, गोरखा । जन्मजात अपाङ्गताको समस्याबाट पीडित गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका एकै घरका तीन जनालाई आज घरमै पुगेर नागरिकता दिइएको छ । 

वडा सचिव शरण श्रेष्ठको पहलमा स्थानीय बासिन्दा धनबहादुर श्रेष्ठका दुई छोरी र एक छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ, नायब सुब्बाद्वय मीनप्रसाद लामिछाने र हरिराम श्रेष्ठले नागरिकता प्रदान गर्नुभएको हो । 


विसं २०४५ मा जन्मिएकी लीला श्रेष्ठ, २०५९ सालमा जन्मिएकी शिला श्रेष्ठ र २०५६ सालमा जन्मिएका राजीव श्रेष्ठलाई वंशजका आधारमा नागरिकता दिइएको हो । उनीहरु सबै जन्मजात अपाङ्गता हुन् । 

अपाङ्गता परिचयपत्र बनाए पनि बोकेर जिल्ला प्रशासनसम्म पु¥याउन नसक्दा छोराछोरीको नागरिकता बनाउन नसकिएकोमा घरमै नागरिकता पाउँदा आफूहरु खुशी भएको धनबहादुरले बताउनुभयो । 

सोही अवसरमा शहीद लखन–७ कै वीरबहादुर गुरुङ र बिस्तारी गुरुङको नागरिकता बनाएर उपलब्ध गराइएको थियो । वीरबहादुर २००३ साल र बिस्तारी २००२ सालमा जन्मिएको भए पनि अहिलेसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित थिए । 

प्रशासनबाट नागरिकतासम्बन्धी ढड्डा बोकेर अधिकृत र नासुसहित वडाध्यक्ष नागरिकता बनाउन कोटगाउँ पुगेका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई वडाध्यक्ष शरण श्रेष्ठले अपाङ्गता भएकाहरुको नागरिकता बनाउन आग्रह गरेपछि घरबाटै नागरिकता बन्ने काम सफल भएको हो । 

वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “स्थानीय तह निर्वाचनका बेला प्रचारप्रसारमा गाउँ पुग्दा एकै घरका तीनजना अपाङ्गता भएर एकै थलामा देखेको थिए । त्यसबेला आर्थिक सहयोग गर्ने तथा नागरिकता बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेको थिएँ, आज पूरा हुँदा खुशी लागेको छ ।” 

यसअघि वडाध्यक्ष श्रेष्ठकै पहलमा अपाङ्गता भएको श्रेष्ठ परिवारलाई रु एक लाख आर्थिक सहयोग मिलेको थियो । यस्तै आठजना अन्य विपन्नको पनि नागरिकता बनाएर उपलब्ध गराइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!