चित्रसेनकलीप्रति चासो बढ्दै

Posted on: 23 Jan, 2018

वीरेन्द्र कर्ण / माघ ९, वीरगञ्ज  | बाह्र वर्षीया कान्छी ढोई चित्रसेनकलीको सुत्केरी हुने दिन जति जति नजिकिँदै छ , कर्मचारीको उत्साह पनि त्यति त्यति बढ्दै गएको छ । 

प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीसारमा रहेकी चित्रसेनकली २३ महिनाकी गर्भवती छिन् र उनको सुत्केरी हुने समय माघको अन्तिम या फागुनको पहिलो साता भएकाले उनको सेवा सुश्रुषामा त्यहाँका कर्मचारी अहोरात्र खटिरहेका छन् । 

चित्रसेनकली कहिले ब्याउने हो भनेर व्यग्रताका साथ हात्तीसार कर्मचारी उनको सेवामा कुनै कमी नहोस् भनेर व्यस्त रहेको हात्तीसारका सुब्बा मनपुरण चौधरीले राससलाई बताउनुभयो । 

गर्भवती चित्रसेनकलीलाई कतिबेला सुत्केरी व्यथाले च्याप्ने हो भनेर उनको रेखदेखमा हात्तीसारका तीन कर्मचारी खटिएका छन् । निकुञ्जभित्र रहेका १० हात्तीमध्ये चार हात्ती जंगलभित्र छन् भने छ हात्तीसारभित्र छन् । 

पर्सा राष्ट्रिय निकुञ्जभित्र २०४१ सालमा स्थापित हात्तीसारमा यसअघि भवानीकलीले २०५६ सालमा मृत बच्चा जन्माएपछि त्यस्तो स्थिति चित्रसेनकलीलाई नआओस् भनेर त्यहाँका कर्मचारी सावधानीपूर्वक सेवाटहलमा जुटेका छन् । सुत्केरी व्यथा लागेपछि आमाले हातखुट्टा चलाएर छावालाई मार्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सजगता अपनाउन कर्मचारी तयारी अवस्थामा रहेको निकुञ्ज प्रशासनले जनाएको छ । 

विसं २०७२ चैत दोस्रो सातातिर गर्भवती भएकी चित्रसेनकलीलाई अन्य हात्तीको तुलनामा खानपिन, आराम र सेवाटहलमा विशेष ध्यान दिने गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । सामान्यतः ढोईले गर्भधारण गरेको २० देखि २२ महिनाभित्र छावालाई जन्म दिनुपर्नेमा चित्रसेनकलीले गर्भधारण गरेको २३ महिना लाग्दासमेत सुत्केरी नहुँदा हात्तीसारका कर्मचारी चिन्तित देखिन्छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!