विभिन्न जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

Posted on: 24 Jan, 2018

माघ १०, गोरखा | गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । 

मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । 

“हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उहाँले भन्नुभयो, “हिउँ परिरहेको छ । एक फिट जति हिउँ जमिसक्यो ।” यो वर्ष पहिलो पटक आज हिमपात भएको हो । टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही भने खुशी पनि छन् । 

गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्प प्रभावित त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण शुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका छन् । लाप्राकीहरु अधिकांश भने पुरानै गाउँमा उनीहरुले मर्मत गरेकै घरमा बसेका छन् । पुरानो गाउँमा पनि हिमपात भएको स्थानीयवासी तुले गुरुङले बताउनुभयो । 

हिमपातपछि बारपाक–लाप्राक कच्ची सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि यो सडकमा ट्र्याक्टर, बोलेरो जिप गुड्न सक्दैन । हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ । केहीले हिउँ तताएर पानी पिउने गर्छन् । घाम लागेपछि मात्रै मुलको पानी बग्छ । टहरोभित्र आगो तापेर भूकम्प प्रभावितहरु बसेका छन् । 

रसुवा 

बिहानैदेखि परेको पानीसँगै जिल्लाका उच्च हिमाली भागमा हिमपात शुरु भएको छ । 

चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार त्यस क्षेत्रका साथै गोसाइँकुण्ड, लाङटाङ, नाकथली लगायतका स्थानमा हिमपात भइरहको छ । 

गत वर्ष भने फागुनमा मात्र हिमपात भएको र यस वर्ष माघको दोस्रो साताबाटै हिमपात र पानी परेपछि हिउँदे बाली राम्रो हुनेमा स्थानीयवासी उत्साहित भएका छन् । 

हुम्ला

गएरातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ । 

जिल्लाको सिमीकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाका साथै रुघाखोकी, निमोनियाँका बिरामी चिसोबाट थप मर्कामा परेका छन् । 

भारी हिमपातसँगै लिली, मुचु, फुङगाल, हेक्पा, स्याडामा खर्कमा राखिएका चौँरी, झोवालाई घर गोठमा ल्याइएको छ । जिल्लामा हिमपात भएपछि स्थानीय किसान भने हर्षित भएका छन्, अहिलेको हिमपातले स्याउ लगायतका बालीनालीलाई सकारात्मक प्रभाव पर्ने कृषिविद्हरुले जनाएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!