ठगी गर्ने एक समूह रुपन्देहीबाट पक्राउ

Posted on: 24 Jan, 2018

माघ १०, लुम्बिनी | भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । 

नेपालका विभिन्न भागबाट भारत उक्त प्रदेशको गोरखपुर, कुशिनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवा युवतिबाट पैसा असुल्ने तीनवटा कम्पनीमा काम गर्ने समूहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

प्रहरीले पैसा असुल्ने लमजुङको दोर्दी गाउँपालिका– ५ का दर्पण लामा, दाङ लमही– ४ का कुशलराम चौधरी, धादिङ रोलाङ– ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका– ३ का चन्दित सिंह र बारा निजगढ– १२ का दावा लामालाई पक्राउ गरेको हो । 

प्रहरी प्रवत्ता डिल्लीनारायण पाण्डेले उनीहरुमाथि संगठित ठगी मुद्दा दायर गरेको बताउनुभयो । उक्त समूह रु आठ हजारदेखि रु तीन लाखसम्म रकम असुलेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८० जनाले आफूहरुबाट लाखौ रकम असुलेको निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट रु एक करोड ५२ लाख बिगो माग गरेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!