काभ्रेपलाञ्चोकमा बैंक स्थापना नहुँदा काम गर्न कठिनाइ

Posted on: 29 Jan, 2018

माघ १५, बनेपा | काभ्रेपलाञ्चोकको अधिकांश गाउँपालिकामा बैंकिङ पहुँच नहुँदा विभिन्न योजनाको सम्झौता गर्न कठिनाइ भएको छ । 

जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता रहेको छ । 

जिल्लामा रहेका सात गाउँपालिकामध्ये महाभारत, खानीखोला, तेमाल, चौरीदेउराली र रोशी गाउँपालिकामा कुनै बैंक स्थापना भएको छैन । भुम्लु गाउँपालिकाको दोलालघाटमा सिन्धु विकास बैंक र बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा ग्लोबल आइएमई बैंक स्थापना भएपनि पर्याप्त सुविधा नभएकाले धुलिखेल र बनेपा धाउनुपरेको छ । 

चौँरी देउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले योजना सम्झौताका काम गर्न समस्या भएको उल्लेख गर्दै बैंकका कारण भएका कर्मचारी पनि कार्यालयमा बस्न नपाउने अवस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पैसा राख्न र झिक्नका लागि चार दिन लाग्ने गरेको छ ।” 

भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलालघाटमा बैंक भए पनि प्रभावकारी नभएको जानकारी दिँदै बंगलादेश बैंकका लागि कार्यालयका तर्फबाट कोठा छुट्याए पनि अझै बैंक गाउँ नपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाका १०९ वटा आयोजना छन्, त्यसको सम्झौता गर्न धुलिखेल धाउनुपर्ने अवस्था छ ।” 

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले बैंक नभएका कारण ठूलो सास्ती खेप्नुपरेकाले सानातिना आर्थिक कारोबारका लागि बनेपा र धुलिखेल जानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो २७ करोड बजेट छ, बोधिचित्तको समेत कारोबार हुँदा रु ५० करोडको बजेट हुन्छ, तर आर्थिक सुरक्षा भएन ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!