डडेल्धुरामा नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

Posted on: 03 Feb, 2018

माघ २०, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । 

नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो । 

यसरी नियमित चेक नहुँदा, पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गई आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने बगरकोट स्वास्थ्य चौकीका अहेब मदनराज भाटले बताउनुभयो । 

गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्य पदार्थ अपुग हुँदा उनीहरुलाई असर पर्ने र गर्भास्वस्थाका खतराका बारेमा पनि जानकारी नहुँदा कतिपय गर्भवती आमा र बच्चाको ज्यान अकालमा जाने भएकाले प्रोत्साहन भत्ताको व्यवस्था गरी नियमित चेकजाँच गराउनका लागि सो व्यवस्था गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो । 

गर्भ रहेको थाहा भए देखि नै नियमित नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा आमा चेक गराउन भन्ने उद्देश्यले प्रोत्साहन भत्ताको व्यवस्था गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी गराउनुभयो । 

गर्भवतीलाई पूर्णरुपले सेवा भोग नगरेको अवस्थामा चार पटकसम्म नियमित चेकजाँच गरेको र प्रसूति सेवा लिई स्वास्थ्य चौकीमा नै गराएको आमालाई रु २०० का दरले पाँच दिनसम्मको भत्ता र खानाको व्यवस्था गरिएको अध्यक्ष भट्टले बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!