उदयपुरमा दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १५ लाखभन्दा बढी क्षति

Posted on: 07 Feb, 2018

माघ २४, विराटनगर | उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । 

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको छ । 

आगो प्रहरी र स्थानीय जनताको सहयोगमा नियन्त्रणमा लिइएको तथा क्षतिको विवरण संकलन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

यसैगरी, चौदण्डिगडी नगरपालिका–४, बसाहास्थित चन्द्रकला राईको घरमा मंगलबार राति १० बजे टुकी बत्तीबाट अचानक आगलागी हुँदा काठले बनेको घर, फर्निचर, लत्ताकपडा र भाँडावर्तन जलेका नष्ट भएको छ । आगलागीबाट राईको करिब रु १५ लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ । 

उक्त आगो स्थानीय जनता, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!