दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो

Posted on: 08 Feb, 2018

माघ २५, रुकुम | ठूलो दुर्घटना हुनबाट बचेको नेपाल वायुसेवा निगमको जहाज एक्कासि बिग्रिएपछि दुई दिनदेखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा रहेको छ । 

बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा दायाँ पंखामा रहेको हाइड्रोलिक पाइप फुटेपछि दुई दिनदेखि सल्ले विमानस्थलमा थन्किएको छ । 

बुधबार दिउँसो काठमाडौँबाट रुकुम सिधा उडान भरेको जहाज ल्याण्डिङपछि पार्किङ गर्ने क्रममा हाइड्रोलिक पाइप फुटे पनि जहाज दुर्घटनाबाट बचेको थियो । यदि आकाशमै हाइड्रोलिक पाइप फुटेको भए ठूलो क्षति हुन सक्ने सम्भावना रहेको सुरक्षाकर्मीले बताएका छन् । बुधबार काठमाडौँबाट बिहान १० बजेर ५५ मिनेटमा उडेको जहाज सल्ले एयरपोर्टमा मध्याह्नको १२ बजेर १० मिनेटमा अवतरण भएको थियो । हाइड्रोलिक पाइप फुटे पनि अन्य क्षति भने नभएको बताइएको छ । 

नाइन एनएबिटी नम्बरको जहाज काठमाडौँ–रुकुम र रुकुम–नेपालगञ्ज उडान भर्ने कार्यतालिका थियो । जहाज बिग्रिएपछि नेपालगञ्ज जान टिकट लिएर तयार भएका यात्रु एयरपोर्टबाट घर फिर्ता भएका थिए । रुकुम सल्ले विमानस्थलमा नेपाल वायु सेवाको मात्र उडान हुँदै आएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!