सहनी समुदाय सुकुटी व्यवसायतर्फ आकर्षित

Posted on: 09 Feb, 2018

माघ २६, वीरगञ्ज | सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ । 

परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका छन् । बाराको देवताल गाउँपालिका– ६ रौवाहीको सहनी समुदायले माछाको सुकुटी बनाएर व्यापार गर्न थालेको छ । 

जिल्ला कृषि विकास कार्यालयले रु २५ हजार अनुदान सहयोग गरेपछि उक्त समुदायले रु ५० हजारको लागतमा माछा सेक्ने भट्टी निर्माण गरेका छन् । विगत २२ वर्षदेखि माछाको सुकुटी उत्पादन गर्दै आएका इन्द्रजित सहनी यही व्यापारबाट घरखेत जोडेको बताउनुहुन्छ । सुकुटीको मुख्य बजार काठमाडौँ हो । 

“सुकुटी बेच्न समस्या छैन,” उहाँले भन्नुभयो । कोइलाको आगोमाथि तारजाली रहेको भट्टीमा माछा पोलेर सुकुटी बनाइन्छ । यहाँको सुकुटीको काठमाडौँमा अत्याधिक माग रहेको उहाँको भनाइ छ । करिब तीन क्विन्टल माछा सुकाएपछि एक क्विन्टल सुकुटी बन्छ । 

काठमाडौँका व्यापारीले प्रतिकिलो सुकुटी रु एक हजारमा किनेर प्रतिकिलो रु एक हजार ५०० सम्ममा बिक्री गर्ने गरेका रामेश्वर सहनीले बताउनुभयो । उहाँले प्रतिमहिना १५० क्विन्टल काँचो माछाको सुकुटी बनाएर बिक्रीका लागि काठमाडौँ पठाउने गर्नुभएको छ । अहिले रौवाहीका अन्य सहनी परिवारले समेत व्यावसायिक रुपमा सुकुटीको व्यापार गर्न थालेका छन् । 

“मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ,” स्थानीयवासी छट्टु सहनीले भन्नुभयो । सहनी समुदाय अहिले अन्य पेसा छाडी सुकुटी व्यवसायतर्फ आकर्षित भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!