जाजरकोटको लोकमार्गमा यातायात सञ्चालनको माग

Posted on: 11 Feb, 2018

माघ २८, जाजरकोट | पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् । 

सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन सरोकारयुक्त निकायसँग माग गरेका छन् । जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन आग्रह गरेका छन् । 

सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय तह र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिससका संयोजक मनबहादुर रावल र प्रदेशसभा सांसद कृष्णा शाहमार्फत सरोकारयुक्तको ध्यानाकर्षण गराएको स्थानीयवासी अटल आचार्यले जानकारी दिनुभयो । करोडौँ रकम खर्च गरेर बनाइएको सडकमा गुणस्तर नहुँदा जनताले दुःख पाइरहने गरेको आचार्यले बताउनुभयो । 

लिखित ज्ञापनपत्र दिएर भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडासम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरुले माग गरेको स्थानीयवासी बताउँछन् । रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किमीको लम्बाइ रहेको उक्त सडक वर्षात्को भेल र पहिराका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको तिनको गुनासो छ । 

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दाङका सिनियर डिभिजन इञ्जिनीयर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम शुरु हुन लागेको बताउनुभयो । “भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको सडक कालोपत्रे र चौडा गरिने, पर्खाल लगाइने तथा नाली बनाइने कामका लागि माघ महिनाभित्र बोलपत्र आह्वान हुन लागेको छ”, उहाँले भन्नुभयो । 

सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन आइसकेकाले अब बोलपत्र आह्वान हुन लागेको उहाँको भनाइ छ । सडक आगामी तीन वर्षभित्र कालोपत्रे गरिसक्ने गरी आफूहरुले काम अघि बढाउन लागेको डिभिजन इञ्जिनीयर न्यौपानेले बाउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!