जंगलमा फैलिएको डढेलो नियन्त्रण बाहिर

Posted on: 16 Feb, 2018

फागुन ४, सोलुखुम्बु | खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ । 

जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेको छ । बिहिबार दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी भएको थियो । आगो घरनजिकै रहेको ठाडोकोशी रेडपाण्डा समुदायिक बनमा सल्किएको थियो । 

उक्त आगो अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा फैलिएको लुक्ला सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । घरमा लागेको आगो नियन्त्रणमा आए पनि त्यहाँबाट जंगलमा सल्किएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । अहिले स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदलयात्रीले आगो निभाइरहेका छन् । 

“आगलागीले बस्ती भेट्ने सम्भावना कम भए पनि जंगलमा क्षति पु¥याएको छ,” सेवा केन्द्रका अध्यक्ष शेर्पाले भन्नुभयो । 

ठाडो कोशीमा लागेको आगो तीन घण्टाको दूरीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको जोर सल्लेसम्म फैलिएको प्रहरी नायब निरीक्षक यादव केसीले बताउनुभयो । उहाँले भन्नुभयो– “नियन्त्रण गर्ने साधन नहुँदा समस्या भएको छ ।” आगलागीबाट शेर्पाको घरमा रहेको सबै सामग्री जलेर नष्ट हुँदा करिब रु डेढ करोड बराबरको क्षति भएको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!