महिलालाई दिइएका अधिकार कार्यान्वयनमा चुनौती

Posted on: 16 Feb, 2018

फागुन ४, दाङ | जिल्लास्थित सञ्चारिका समूह र क्रियाशील पत्रकार महिला समूहले आज संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं ५ का निर्वाचितत महिला जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ । 

उक्त प्रदेशका उपस्थित १२ जिल्लाका महिला जनप्रतिनिधिले प्राप्त उपलब्धि र संविधानले प्रद्धत गरेको अधिकार कार्यान्वयन र निष्पक्ष न्याय सम्पादनमा आफूहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिए । 

उनीहरूले अझैसम्म कार्यविधि नबन्दा आफूहरुलाई न्याय सम्पादनमा अप्ठेरो परेकाले स्पष्ट कार्यविधि छिटो निर्माण गरी कार्य सम्पादनमा सहजता ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । 

तुलसीपुर उपमहानगरपालिकाका माया आचार्यले नेपालको संविधानले महिलालाई अधिकारसहितको राजनीतिक नेतृत्वमा आउने बसर उपलब्ध गराएकाले आफूहरुले यसलाई भरपुर उपयोग गर्ने बताउनुभयो । 

घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले संविधानले महिलालाई अधिकार दिए पनि कार्यान्वयन तहमा थुपै्र चुनौती रहेको छ भन्दै अझै पनि महिला र पुरुषबीचको असमानता विद्यमान रहेकाले यो असमानतालाई चिर्न जरुरी रहेको छ भन्नुभयो । 

अबको पाँच वर्षमा नेतृत्व तहमा आउनका लागि महिलामा आन्तरिक रुपान्तरणको खाँचो रहेको पनि उहाँले उल्लेख गर्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले स्थानीय तहमा संविधानले उपप्रमुखलाई बढी जिम्मेवारी दिए पनि प्रमुख र उपप्रमुखबीच सहकार्य हुन नसक्दा कार्यसम्पादनमा निकै चुनौती रहेको छ भन्दै उहाँले न्यायिक समितिलाई ऐन, नियमको अभावबमा कार्यसम्पादनमा समेत अप्ठेरो परेको समेत बताउनुभयो । स्थानीय तहका उपप्रमुखलाई न्याय सम्पादन गर्ने जिम्मेवारी बहन गर्न विभिन्न तालिमको आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!