मुगुमा जंगली जनावर र पक्षीको चोरी सिकार गर्ने क्रम बढ्दै

Posted on: 16 Feb, 2018

नन्द बहादुर रोकाया | फागुन ४, गमगढी | मुगु सहितका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै जंगली जनावर र पक्षीको चोरी सिकार गर्ने क्रम बढेको छ । 

हिउँमा फसेका मृगसहितका जनावर र चिसोले बेसी तिर झरेका पक्षीको सिकार गर्ने क्रम बढेको हो । हिमपात भएपछि जनावर तथा पंक्षीको सिकार गर्न सजिलो हुने भएकाले मुगु सहितका उच्च पहाडी जिल्लाका जंगली क्षेत्रमा सिकारका लागि जानेको संख्या बढेको बताईएको छ । 

मुगुमा धेरैजसो गाउँपालीका वन हरुमा बन्दुक, भाला, हसिँया, लाठी लगायतका घरेलु हतियार र सिकारी कुकुरसहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डाँफे, कालिज लगायत पक्षीको सिकार गर्ने गर्दछन । 

अहिले हिमाली भेगमा सिकारको सिजन सुरु भएको छ । मुगुका हिमाली क्षेत्र करानको लेख, चंखेली, मुर्मा रारा, कालामुल, घुच्ची लगायतका खत्याड र सोरुका उच्च भुभागहरुमा वनक्षेत्रमा सिकार गर्ने क्रम चलिरहेको छ ।सिकार गरेको डाँफे सदरमुकाम लगायतका आसपास क्षेत्रमा एउटाको २ हजार ५ सयदेखि ३ हजार ५ सय सम्ममा बिक्री हुने गरेको छ ।

यस्तै जंगली जनावर झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजारदेखि १५ सयसम्म बिक्री हुने गरेको छ । हिउँ परेपछि सिकार गर्ने क्रम बढेकाले जंगली जनावर तथा पक्षी संकटमा परेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!