गौरीशंकर संरक्षण क्षेत्रबाट मृग तस्करीमा संलग्न सात युवा पक्राउ

Posted on: 17 Feb, 2018

ताराबहादुर महत । फागुन ५, दोलखा । गौरीशंकर संरक्षण क्षेत्रबाट वन्यजन्तु मृग तस्करी गर्ने सात जना युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदिश शिवाकोटी, खुमप्रसाद शिवाकोटी तथा वडा नम्बर ७ का रमेश श्रेष्ठ र कुमार श्रेष्ठ रहेका छन । त्यसैगरी भिमेश्वर नगरपालिका वडा नम्बर ५ का विकी दास र रुपक बुढाथोकी पनि पक्राउ परेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । पक्राउ परेकाहरु १७ देखि ३२ बर्ष उमेरसमुहका युवाहरु रहेका छन ।

गत मंगलबार राति विगु गाउँपालिका वडा नम्बर १ गोँगरबाट सिँगटी आउँदै गरेको बा ४ ख २१६ नम्बरको ट्रकमा खैरो रङको दुई सिङ्गे जिउँदो मृग लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सिँगटीको प्रहरी टोलिले उनीहरुलाई मृगसहित पक्राउ गरेको जनाएको छ ।

आवश्यक कारबाहीका लागि मृगसहित पक्राउ परेका व्यक्तिहरुलाई गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय दोलखामा बुझाईएको प्रहरी निरिक्षक प्रधानको भनाई छ । प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तहरुले सिँगटी लामाबगर सडकखण्ड अन्र्तगत भोर्लेको भिरमा बाटोमा बसीरहेको मृग भेटेपछि समातेर ल्याएको बताएका प्रहरीको भनाई छ । घटनाको चार दिनपछि शनिबार प्रहरीले घटना सार्वजनिक गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!