बाजुरा जिप दुर्घटना अपडेटः दुईको मृत्यु, पाँच जना घाइते (नामावलीसहित)

Posted on: 20 Feb, 2018

फागुन ८, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । 

जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभएको छ । 

घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ । रिफर गरिएकामध्येको टाउकोमा चोट लागेको छ । 

कोल्टीबाट मार्तडी आउँदै गरेको से १ ज ९४० नं को जीप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको प्रहरीको भनाइ छ । गाडी चालक भने फरार रहेको प्रहरीले बताएको छ । चालकको खोजी कार्य भइरहेको वलीले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!