आइसिपीको मूलढोकामा धर्ना, निर्माण कार्य प्रभावित

Posted on: 23 Feb, 2018

फागुन ११, वीरगञ्ज | पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं २० अलौमा उद्घाटनको संघारमा रहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) अगाडि मुआब्जापीडितले १५ दिनदेखि धर्ना दिँदा निर्माण कार्य प्रभावित भएको छ । 

आइसिपी नेपाल मुआब्जापीडित ३४६ घरपरिवारले ११० बिघा खेतीयोग्य जग्गाको मुआब्जा माग गर्दै विगत १५ दिनदेखि धर्ना दिँदै आएका छन् । नेपाल र भारतका सरकारी संयुक्त टोलीले २०६७ असोज १ गते प्रस्तुत गरेको प्रतिवेदनअनुसार सरकारले हालसम्म पीडित किसानलाई मुआब्जा उपलब्ध नगराउँदा सोको विरोधमा आन्दोलनमा उत्रेको संघर्ष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले राससलाई बताउनुभयो । 

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसँग जिज्ञासा राख्दा आइसिपीको मूलढोका बाहिर आन्दोलनकारीले धर्ना दिए पनि भित्रचाहिँ काम भइरहेको र यस सम्बन्धमा माथिल्लो निकायलाई जानकारी गराइसकिएको बताउनुभयो । 

भारत सरकारको रु एक अर्ब ३९ करोडको लागतमा सन् २०११ देखि निर्माण शुरु भएको सो आसिपीको काम भारततर्फ सम्पन्न भए पनि नेपालतर्फ भने ९८ प्रतिशत काम पूरा भएको छ । नेपालतर्फका आइसिपी निर्माण गरिरहेको भारतीय परामर्श दाता राइट्स कम्पनी लि आइसिपीको निर्माण कार्य लगभग सम्पन्न अवस्थामा रहेकाले निकट भविष्यमै सञ्चालनमा आउने जनाउको छ । 

आइसिपी निर्माण कार्य लगभग पूरा भए पनि सुख्खा बन्दरगाहदेखि आइसिपीसम्म करिब सात मिटर सडक विस्तार भने हुन सकेको छैन । यसका लागि नेपाल सरकारले अर्थमन्त्रालयमार्फत रु ९० करोडमध्ये रु ३० करोड विनियोजित गरिसकेको छ । 

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत आइसिपी उद्घाटनको कार्यक्रम बनाएर भारत पठाउने तयारीमा रहेकाले चाँडै नै आइसिपी सञ्चालनमा आउने विश्वास उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!