पैसाको बार्गेनिङ नमिल्दा सिडिओले मजदुरलाई झुटा मुद्दा चलाएपछि...

Posted on: 28 Feb, 2018

सम्राट सिंह/फागुन १६, बझाङ | पैसाको बारगिनिङ नमिलेपछि झुटा आरोप लगाएर एकजना यातायात व्यवसायीलाई सार्वजनिक अपराधको मुद्धा लगाएको भन्दै सिडिओ विरुद्ध बझाङका यातायात व्यवसायीहरु आन्दोलित भएका छन । 


बझाङका सिडिओ धर्मानन्द जोशीले बिना कारण जिल्लाको बसपार्कमा वर्कसप संञ्चालन गर्दै आएका राजमल जाग्रीलाई गाली गलौच गरेको भन्दै हिजो सार्वजनिक अपराधको मुद्दा  चलाएपछि यातायात व्यवसायी आन्दोलित भएका हुन । 

उनिहरुले बुधबार जिल्ला प्रशासन कार्यालयको मुल गेटमा सिडिओ जोशीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका छन ।

सिडिओ जोशीले राजु अटो वर्कसपको नाममा फर्जी भ्याटबिल बनाई खरिद नै नभएको सामानको बिल राखी मिति २०७४ मंसिर २ गते वर्कसवको नाममा  ६९ हजार ४ सय ७४ रुपियाँको चेक जम्मा गरेको र पछि सिडिओले पटक पटक पैसा फिर्ता गर्न दवाव दिदा पनि जाग्रीले पैसा नदिदा गालिगलौचको निहुँमा मुद्घा दर्ता गरेको उनका आफन्तले जनाएका छन । 

केहि महिना अगाडि सम्पन्न भएको निर्वाचनमा सिडिओ मदिरामा मस्त मतपेटिका अलपत्र भन्ने समाचार विभिन्न संञ्चारमाध्यममा प्रकाशित,प्रसारण भएलगत्तै फेरी सिडिओबाटै पैसाको बारगिनिङ नमिलेपछि मजदुरलाई मुद्घा लगाएको कुरा चर्चामा आएको छ । 

तत्काल मुद्धा फिर्ता लिएर पक्राउ परेका व्यक्तीलाई रिहा गर्नु पर्ने माग राख्दै  उनिहरुले ६ घण्टा सवारी साधन संचालन नगर्ने निर्णय गरेका छन । सवारी साधन नचले पछि आवतजावतमा समस्या भएको छ । 

प्रमुख जिल्ला अधिकारी जोशीले गाडी मर्मत गरेको र पाटपुर्जा फेरेको भनेर राजु अटो वर्कसप एण्ड ड्राइभिङ सेन्टरबाट नक्कली भ्याट विल बनाएको र सोही विलको रकम जिल्ला प्रशासन कार्यालयले वर्कशपको खातामा जम्मा गरी पछि फिर्ता मागेको व्यवसायीको आरोप छ । संचालक राजु जाग्री विलमा उल्लेख भएको भ्याट रकम कटाएर बांकी फिर्ता दिन मञ्जुर भए पनि सिडियोले पुरै रकम फिर्ता मागेको र जाग्रीले दिन नमाने पछि उनि विरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाइएको सार्वजनिक यातायातका अध्यक्ष नरेन्द्र खडकाले बताए ।  


उता सिडिओ धर्मानन्द जोशीले भने ३ महिना अगाडि मदिरा सेवन गरेर चैनपुर बजारमा होहल्ला गरिहेका जाग्रीका एक जना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको र ति व्यक्तीलाई छोडिदिन आग्रह गर्ने क्रममा जाग्रीले आफुलाई गाली गलौज गरेकोले सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको बताए । पैसाको बारगिनिङ नभएर आफुलाई गालि गलौच गरेकाले नै मुद्घा दर्ता गरेको उनको भनाइ छ । 

यस्तो छ विल प्रकरण 

जिल्ला प्रशाशन कार्यालय बझाङले गत मंसिर ३ गतेको मितिमा राजु अटो वर्कसप एण्ड ड्राइभिङ सेन्टरबाट गाडीको लागी आवश्यक पर्ने लिनेर, पिस्टोन, हेड ग्यासकेट किट, हेडवाल लगायतका पाटपुर्जा फेरेको, इन्जिन बोरिङ तथा पम्प मर्मत गरेको भनेर ७० हजार ४ सय २४ रुपैयाको विल लिएको देखिएको छ । तर जिल्ला प्रशाशन कार्यालयले सोही मंसिर २ गते नै वर्कशपको नाममा रहेको खाता नं ४११०००५७९४०१ मा ६९ हजार ४ सय ७४ रुपैयाको भुक्तानी चेकमार्फत दिएको छ । सो विलमा १.५ प्रतिशत अग्रिम करकट्टी गरी बांकी रकम भुक्तानी गरिएको जिल्ला प्रशासन श्रोतले बताएको छ । 


वर्कशप संचालक राजु जाग्रीले जिल्ला प्रशाशन कार्यालयले आफु चुनाव प्रचारमा गएको बेलामा वर्कशपमा रहेकी आफ्नो श्रीमतीबाट भ्याट विल मागेर लगेको र आफ्नो वर्कशपमा हुदै नभएका सामानहरु किनेको भनेर विलमा उल्लेख गरे पछि आफुले रकम फिर्ता दिन इन्कार गरेको बताए । 

‘मैले भोली कर कार्यालयमा खरिद विल पेश गर्नु पर्छ । तपाईले मैले खरिद नै नगरेको सामानको विल बनाउनु भएछ । मलाई खरिद विल ल्याइदिनु अनि मात्र भुक्तानी दिन्छु भनेर भनेको थिए’ जाग्रीले भने ‘सिडियोले आफैले फोन गरेर र पटक पटक मान्छे पठाएर सबै पैसा फिर्ता गर नभए पुलिस लगाएर थुन्दिन्छु भनेर धम्की दिनु हुन्थ्यो । मैले मानिन त्यहीभएर मलाइ मुद्धा लगाएका हुन ।’ उनले आफुले सिडियोलाई कुनै गालिगलौज नगरेको बताउदै नक्कली विलको पैसा फिर्ता नदिएकोले आफु विरुद्ध सार्वजनिक अपराधको मुद्धा लगाएको बताए । भ्याट विल पछिल्लो दिनको मितिमा काटिनु र रकम अघिल्लो दिन नै रकम भुक्तानी हुनुले कारोबारमा जिल्ला प्रशाशन कार्यालयले जालीकाम गरेको प्रमाणित हुने उनको तर्क छ । 

 सिडिओ जोशीले भने विलको विषयमा आफु माथी लगाइएको आरोप पुर्ण रुपमा निराधार भएको बताए । उनले राजुको वर्कशपमा जिल्ला प्रशासन कार्यालयको गाडी मर्मत गरिएको र सोको विल समेत भुक्तानी भैसकेकोले यो विषयलाई उचालेको बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!