म्याग्दीमा लक्ष्यअघि नै सिँचाइ आयोजना सम्पन्न

Posted on: 08 Mar, 2018

फागुन २४, म्याग्दी | मालिका गाउँपालिका–६ दुखुबेसीमा लक्ष्यअघि नै सिँचाइ आयोजना निर्माण भएको छ । 

जिल्लामा सञ्चालित दर्जनौँ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला सिँचाइ आयोजना भने लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो । 

सिँचाइ विकास सब डिभिजन कार्यालयले ठेक्कामार्फत गत आर्थिक वर्षदेखि सो आयोजना निर्माण शुरु गरेको थियो । आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले माघमै काम सकेको सब डिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताउनुभयो । 

“समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्यअघि नै काम सकिएको हो,” उहाँले भन्नुभयो । 

उक्त आयोजनामार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्सट्रक्सनसँग रु ३० लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । आयोजनामार्फत दुखुबेसीको २५ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । दुई सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । 

यसअघि कच्ची नहरबाट पानी ल्याएर सिँचाइ गरिँदै आएको थियो । नहरबाट पानी चुहिएर खेतबारीमा सिँचाइ गर्न पर्याप्त पानीको अभाव भएको थियो । पक्की नहर बनेपछि नरहमा पर्याप्त मात्रामा पानी आपूर्ति भएको र बाह्रै महिना खेतीबाली लगाउन पाएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुन बताउनुहुन्छ । 

“सिँचाइ गर्न पालो पर्खनुपर्ने समस्या हटेको छ । पानी लगाउनका लागि सँधै हुने विवाद हटेको छ,” उहाँले भन्नुभयो । 

सिँचाइ योजना सम्पन्न भएपछि खाद्यबालीको उत्पादन बढ्ने कृषकले अपेक्षा गरेका छन् । फलफूल र तरकारीको व्यावसायिक खेती गरेर आम्दानी गर्ने सम्भावना बढेको छ । मुख्य नहर बने पनि शाखा नहर र पाइपलाइन विस्तारको आवश्यकता देखिएको कृषकले बताएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!