ताप्लेजुङमा बिरामीलाई फलफूल वितरण

Posted on: 08 Mar, 2018

फागुन २४, ताप्लेजुङ | अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय हरियाली मञ्च ताप्लेजुङ’ले जिल्ला अस्पतालमा रहेका बिरामीलाई आज फलफूल वितरण गरेको छ । 

अस्पतालमा उपचारार्थ २४ बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको मञ्चका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभयो । अस्पताल परिसरमा आयोजित कार्यक्रमपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीसहितको टोलीले बिरामीलाई फलफूल वितरण गरेको हो । 

कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दुर्गा चापागाईं, अस्पतालका प्रमुख डाक्टर सचिन यादव, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, मञ्चका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । 

यसैबीच अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला उद्यमी संघले सिरिजंघा गाउँपालिकामा र फुङलिङ नगरपालिकाले जिल्ला समन्वय समितिको कार्यालय परिसरमा आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!