नारी दिवसकै दिन दोलखामा गाउँपालिका अध्यक्षबाट उपाध्यक्ष अपमानित

Posted on: 08 Mar, 2018

ताराबहादुर महत । फागुन २४, दोलखा । आज अन्र्तराष्ट्रिय नारी दिवस मनाईरहेका दिन दोलखामा गाउँपालिकाकी एक उपाध्यक्ष अध्यक्षबाट अपमानित हुनु भएको छ ।


गाउँ कार्यपालिकाको वैठक वसिरहेको समयमा गाउँपालिका अध्यक्षले आफूमाथि अभद्र व्यवहार गरी बैठक कक्षबाट निकालेको कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले आरोप लगाउनुभएको छ  । 

भोलि फागुन २५ गतेका लागि तय गरिएको गाउँसभा बैठकको पुर्वतयारी बैठकमा अवैधानिक रुपमा गाउँसभाको बैठक आव्हान गरिएको विषयमा कुरा उठाउँदा अध्यक्ष विनकुमार थामीले आफूलाई बैठक कक्षबाट अपमानजनक रुपमा निकालेको उपाध्यक्ष पाठकको भनाई छ । अध्यक्षको फेसबुक स्टाटसमार्फत गाउँसभाको बारेमा जानकारी पाएको पाठकले बताउनुभयो ।

गाउँसभा हुनु सात दिन अगाडि नै उपाध्यक्षसहित गाउँ कार्यपालिकाका सबै सदस्यहरुलाई पत्राचार हुनुपर्ने भए पनि ऐन विपरित अध्यक्षले एकलौटी ढंगले गाउँसभाको आयोजना गरिएको भन्दै उपाध्यक्ष पाठक लगायत केहि वडा अध्यक्ष र सदस्यहरुले गाउँपालिका अध्यक्षलाई बुधबार ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यसैविच गाउँपालिकाको केन्द्र परिवर्तनका लागि कार्यपालिकाका दुई तिहाई सदस्यको सहमतिमा गाउँसभामा सिफारिस गर्न सक्ने कानुनी व्यवस्था भएपनि सामान्य बहुमतले निर्णय गरेर कानुन उल्लंघन गरेको पाठकले बताउनुभएको छ । हाल गाउँपालिकाको वडा नम्बर ७ सुनखानीमा केन्द्रको कार्यसम्पादन भईरहेको भएपनि गत फागुन ५ गते कार्यपालिकाको बैठक बसेर सामान्य बहुमतले वडा नम्बर ५ लापिलाङ्गमा केन्द्र तोकेको पाठकले जानकारी दिनुभयो ।

यस विषयमा अध्यक्ष थामीसँग फोनमा कुराकानी गर्न खोज्दा बैठकमा व्यस्त भएको भन्दै पछि कुराकानी गर्ने बताउनुभयो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!