वडाध्यक्ष र वडा सदस्यले कुखुरा चोरे !

Posted on: 10 Mar, 2018

फागुन २६, कालिकोट | सान्नी त्रिवेणी गाउँपालिका– ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसी र वडा सदस्य रामबहादुर केसीले स्थानीयको कुखुरा चोरेको आरोप लगाएका छन् । गत फागुन ६ गते राति वडाध्यक्ष र वडा सदस्य मिलेर स्थानीय अर्जुन खत्रीको कुखुरा चोरेर खाएको स्थानीयको आरोप छ ।

‘वडाध्यक्ष र सदस्यले कुखुरा चोरेर भागेका छन्’ एक स्थानीयले भने, ‘गाउँमा सबैले कुखुरा चोरेको थाहा पाएपछि उनीहरू भागेका हुन्।’ वडाध्यक्ष र सदस्यले कुखुरा चोरेर खाएको गाउँमा अहिले राजीनामा माग गर्दै स्थानीयले प्रेस विज्ञप्ति निकालेर गाउँमा टाँससमेत गरेका छन्। स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरा चोरेर खाएको प्रमाणित भएको छ उनीहरूले नैतिकताका आधारमा राजीमाना दिनुपर्छ।’

वडाध्यक्ष केसीले भने आफुलाई यो बिषयमा थाह नभएको बताए । काम बिशेषले सदरमुकाम आएको र गाउँतिर फर्कन आफु बाटोमा भएको भन्दै वडाध्यक्ष केसीले गाउँ पुगेपछि वास्तविकता बुझेर खवर गर्ने जानकारी दिए । ‘कुखुरा चोरेको आरोप कसले लगायो थाहा भएन’ उनले भने, ‘अहिले म गाउँमा जाँदै छु। बुझेर तपाईंलाई खबर गरौँला।’

 वडाध्यक्षले कुखुरा चोरेको विषयमा गाउँपालिकामा कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘वडा अध्यक्षका विषयमा गाउँपालिकामा कुनै जानकारी छैन’ उनले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!