एकाविहानै सेता साधकहरु !

Posted on: 12 Mar, 2018

प्रभात सुवेदी । फागुन २८, बर्दिया ।

बिहानको पाँच बज्दा नबज्दै सेता पहिरनका साथमा केही साधकहरु टुप्लुक्क आइपुगे र निकै उत्साहका साथ एकठाउँमा जम्मा भएर जीवन र जगतका बारेमा चर्चा परिचर्चा गर्दै आफ्नो शरीर निरोगी र स्वस्थ्य बनाउनका लागि योगमा जुटे ।


यसरी जुट्न लागेको छ सात वर्ष भैसकेको थियो तर यो जुटाइले आजदेखि औपचारिक रुप लिएको छ । पतञ्जली योग समिति बर्दियाको समन्वयमा आजदेखि सञ्चालन गर्न लागिएको सह–योग प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आजदेखि गुलरियाको कर्मचारी मिलन केन्द्रको हलमा शुरुवात गरिएको हो ।

भोलिदेखि औपचारिक प्रशिक्षण शुरु गरिने भएकोले सहभागीताका लागि इच्छुक व्यक्तित्वहरुलाई अनुरोध गरिएको छ । पतञ्जली योग समिति काठमाडौंबाट आउनुभएकी योग प्रशिक्षक रिता कार्कीले कार्यक्रमको समुद्घाटन गर्नुहुँदै योगको महत्व र प्रशिक्षणका विविध आयामहरुका बारेमा जानकारी दिनुभएको थियो । साथै सहभागी प्रशिक्षार्थीहरुलाई निष्ठा र आस्थापूर्वक प्रशिक्षणमा सहभागी हुनका लागि अनुरोध गर्नुभएको थियो । 

प्रशिक्षण कार्यक्रममा अतिथि प्रशिक्षकद्वय रिता कार्की, अञ्जल प्रभारी मदनकुमारी श्रेष्ठ लगायत जिल्ला समितिका अध्यक्ष डिल्ली ज्ञवाली, सचिव देवीराम लामिछाने, शिवु ज्ञवाली, भूमिराज लामिछाने लगायतले सहजीकरण गर्नुहुने बताइएको छ । 

कार्यक्रमको सहजीकरण गर्नुहुँदै साधक भूमिराज लामिछानेले विगत केही वर्षदेखि आ–आफ्नै हिसाबले गरिँदै आइएको योगलाई अब भने औपचारिक रुपमा नै सञ्चालन गर्न लागिएको बताउनुभयो । 


जम्मा १ सय १० घण्टा सम्म सञ्चालन गरिने प्रशिक्षण कार्यक्रममा प्रवेश तथा कोर्स पूरा गर्नका लागि फारम भर्नुपर्ने पूरा कोर्सको १ हजार पाँच सय शुल्क लाग्ने साधक शिवु ज्ञवालीले साझा सबाललाई बताउनुभयो । 

कार्यक्रममा स्वागत पतञ्जली योग समिति बर्दियाकी साधक तथा योग अभियान्ता शिवु ज्ञवालीले गर्नुभएको थियो भने आजको उद्घाटन कार्यक्रम अध्यक्ष डिल्लि ज्ञवालीको अध्यक्षतामा सम्पन्न गरिएको हो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!