म्याग्दीमा जलविद्युत् आयोजनाको सुरुङ खन्दा पानीको मुहान सुक्यो

Posted on: 16 Mar, 2018

चैत २, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ । 

बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो । उक्त ठाउँबाट पाइपमार्फत ल्याएको पानी प्रभा मावि, नेपाली सेनाको क्याम्प र पटार गाउँका बासिन्दाले उपभोग गर्दै आएका थिए । 

मुहान सुकेपछि त्यस क्षेत्रमा खानेपानीको चर्को समस्या भएको वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताउनुभयो । पटारमा २७ घरधुरीको बसोबास छ । प्रभा माविमा २५० विद्यार्थी अध्ययनरत् छन् भने क्याम्पमा १०० जना भन्दा बढी सेना बस्दै आएका छन् । 

जलविद्युत् आयोजनालाई वैकल्पिक ठाउँबाट खानेपानीको आपूर्ति मिलाउन आग्रह गरिएको वडाध्यक्ष फगामीले बताउनुभयो । आयोजनाका परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले जमिनभित्र सुरुङ खन्दा बाहिर रहेका मुहानमा असर पर्नु स्वाभाविक भएको बताउँदै खानेपानी अभावको समस्या समाधानका लागि वैकल्पिक व्यवस्था मिलाउन लागिएको बताउनुभयो । 

नजिकैको अर्को मुहानबाट पाइपमार्फत पानी ल्याएर आपूर्ति गराउने र आगामी दिनमा यस्तो समस्या आए कसरी समाधान गर्न सकिन्छ भनेर योजनासमेत बनाइएको इञ्जिनियर खड्काले बताउनुभयो । 

रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनाको दुई हजार २८८ मिटर सुरुङमध्ये अब ७०० मिटरमात्र खन्न बाँकी छ । पानीको मुहान सुक्ने र केही समस्या देखिएपछि भूगर्भविद्को टोलीले गरेको अध्ययनको प्रतिवेदनका आधारमा अघि बढ्ने इञ्जिनियर खड्काले बताउनुभयो । 

विद्युतगृह निर्माणमा ७५ प्रतिशत, बाँधमा ३० प्रतिशत र पाइपलाइनमा ४० प्रतिशत काम सकिएको छ । सन् २०१६ को जुलाई १३ देखि शुरु भएको आयोजना निर्माण कार्य २०१९ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!