सुशासनका लागि यूवाहरुको भुमिका महत्वपूर्ण

Posted on: 16 Mar, 2018

चैत २, कालिकोट | समृद्ध नेपाल निमार्णका लागि स्वस्थ कमर्ठ र उद्यमी युवा भन्ने मुल नाराका साथ शुक्रवार सुशासनमा युवाको भुमिका विषयक १ दिने परामर्श तथा अन्तरक्रिया कार्यक्रम मान्ममा सम्पन्न भएको छ । जिल्ला युवा समिति कालिकोटको आयोजना तथा राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा युवाहरुलाई जागरुक बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

युवा समिति कालिकोटका अध्यक्ष तुलराज मल्लको अध्यक्षता, जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहराको प्रमुख आतिथ्यता र नेपाल बार एशोसिएसनका जिल्ला अध्यक्ष हिक्मतबहादुर विष्टको विशेष आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवासचन्द्र बोहराले नेपालको तथ्याङ्कमा ४० प्रतिशत भन्दा बढी युवा रहेको बताउँदै युवाहरुले उद्यमी हुनुपर्नेमा जोड दिए ।

उनले युवाहरुलाई विभिन्न तालिमको आयोजना गरि युवालाई सुसुचित बनाउन कालिकोट जिल्लाका सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला बारका अध्यक्ष हिक्मत विष्टले युवा भविष्यका कर्णदार मात्र नभई वर्तमानका साझेदार भएकाले युवाको प्रत्येक क्षेत्रमा महत्व उत्तिकै रहने बताए । उनले सूचनाको हक सम्वन्धिको ऐन २०६४ जारी भएपनि अहिलेसम्म युवाले सुचना माग कसरी गर्नुपर्ने भन्ने कुरा नबुझेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा जिल्ला बाल कल्याण समितिका अध्यक्ष लालबहादुर मल्ल, रेडियो नयाँ कर्णालीका स्टेशन मेनेजर भरतराज विष्टले जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिकाका युवाहरुले आफ्नो कर्तव्यलाई नभुल्न आग्रह गरे । कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहबाट युवाहरुको उपस्थिति रहेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!