रुकुमका तामा र फलाम खानी लोप हुँदै

Posted on: 18 Mar, 2018

चैत ४, रुकुम | रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङका रामबहादुर बुढाले १८ वर्ष पहिलेसम्म गाउँमै तामाको धातु निकाल्दा दैनिक रु तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो ।

उहाँजस्तै सोही गाउँका धनवीर बुढाले पनि आफ्नै गाउँमा रहेको तामा खानीबाट दैनिक रु दुई हजारदेखि तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो । 

अठार वर्षदेखि उहाँहरु दुई जना मात्र होइन यो गाउँका कसैले पनि तामा खानी उत्खननमा बेवास्था गर्दा यहाँ रहेका तामा र फलाम खानी उपयोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । भूमे गाउँपालिका–५ सेराबाङ र वडा नं ३ को झुम्लाबाङमा रहेका तामा र फलाम खानी पुरिँदै गएको स्थानीयवासीको भनाइ छ । 

विसं २०५५ सम्म पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गरे पनि राज्यले संरक्षण र व्यवस्थापन नगर्दा अहिले तामा र फलाम खानी पुरिँदै गएको स्थानीयवासी रामबहादुर बुढाको भनाइ छ । अहिले पनि आफूहरुले कहिलेकाहीँ थोरै मात्रामा धातु निकाल्ने गरे पनि तामा र फलाम प्रशस्त रहेको उहाँको दाबी छ । 

जंगलको बीचमा पहाडभित्र रहेका खानीमा धातु निकाल्नका लागि प्रयोग गरिएका बंकर अहिले पुरिन थालेका छन् । आफँैले निकाल्दै गरेको तामा र फलाम लोप हुन थालेपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् । खानी खोस्रेर जीविकोपार्जन गर्दै आएका यस क्षेत्रका मगर समुदाय पनि विस्तारै बसाइँसराइ गर्न थालेका छन् । 

खानी उत्खनन गर्ने उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने भएकाले १८ वर्षदेखि यहाँका खानी बन्द जस्तै अवस्थामा छन् । सरकारले खानीको उत्खननका लागि सहयोग गरेमा देश र यहाँका नागरिकको आर्थिक विकास हुने भूमे गाउँपालिका–५ सेराबाङका जितबहादुर बुढाको भनाइ छ । 

स्थानीयवासीको लगानीमा धातु उत्खनन गर्दा आयातीतसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सञ्चालन गरिए जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । स्रोत र साधनमा आफ्नो गाउँपालिका धनी भए पनि उत्खननमा आफूहरुलाई वञ्चित गरेका कारण केही गर्न नसकिएको उहाँको भनाइ छ । लोप हुन थालेको तामा र फलाम खानी उत्खनन भए प्रतिभा पलायन हुने थिएन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!