म्याग्दी: विद्यालय पुनः निर्माण अभियानमा ५० लाख संकलन

Posted on: 19 Mar, 2018

चैत ५, म्याग्दी | म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५०आँै वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माणका लागि आर्थिक संकलन गर्न थालेका हुन् । 

आगामी वैशाख १ र २ गते बेगमा बृहत् समारोहबीच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलावासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान सञ्चालन गरिएको मूल समारोह समितिका सचिव नक्कु (नगेन्द्र) पुर्जाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, कतार लगायतका मुलुकमा रहेका बेगखोलावासीबाट करीव रु ५० लाख आर्थिक संकलन भइसकेको छ । बेलायतमा रु ३० लाखभन्दा बढी र हङकङमा रु १२ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका सचिव पुर्जाले जानकारी दिनुभयो । 

अभियानका क्रममा विभिन्न मुलुक र क्षेत्रमा रहेका बेगखोलावासीबाट रु एक करोड ५० लाख संकलन गर्ने र तीन वर्षको अवधिमा विद्यालयको पुनःनिर्माण गर्ने योजना रहेको अभियन्ताको भनाइ छ । तत्कालीन अवस्थामा रूखको बोटमुनि बाट पठनपाठन शुरु भएको उक्त विद्यालयलाई २०२५ सालदेखि सरकारले कक्षा ७ सम्म पठनपाठन हुने गरी निमाविको मान्यता दिएको थियो । यस विद्यालयबाट २०५७ सालमा पहिलो पटक कक्षा १० बाट तत्कालीन एसएलसी परीक्षामा विद्यार्थी सामेल भएका थिए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!