कर्णालीको ‘फुरु’ तीब्बतमा लोकप्रिय

Posted on: 20 Mar, 2018

चैत ६, कालिकोट । हिमाली क्षेत्रमा पाइने जंगली काठबाट बनाइने भाडा फुरु (कचौरा)को माग तिब्बतमा निकै बढेको छ । चीनमा काठको भाडाको माग उच्च रहेको कारणले माग बढेको हो ।तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यो भाँडो तिब्बतमा काठको कपका रुपमा बिक्री हुन्छ ।

यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गरेर पश्चिम नेपालका हिमाली जिल्लाहरु हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलाका तामाङ र लामा जातीले तिब्बतमा लगेर बिक्रि गर्दै आएका छन् ।चीनको हिल्सा, ताक्लाकोट लगायतका ठाउँमा काठको भाडाका माग उच्च रहेको र एउटै फुरुको पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्ने गरेको एउटा व्यापारी कल्पना तामाङले बताइन् । ‘कृषि पेशा गर्न पर्याप्त जमिन नहुँदा फुरुकै आम्दानीले जीविकोपार्जन गर्दै आएको छौं’ उनले भनिन्,‘तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रुपमा फुरुलाई लिने गर्दछन् ।’

पश्चिम नेपालका हिमाली जिल्लाहरु हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलाका स्थानीयले ताक्लाकोट लगायतका तिब्बती बजारमा नेपालीहरुले वर्षौंदेखि फुरु, गलैँचा, जडीबुटीलगायत हस्तकलाका सामान बिक्री गर्दै आएका छन् । नेपालीहरुले चिनियाँ बजारमा दैनिक उपभोग्य सामान, चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गरेका सीमावर्ती जिल्लाका बासिन्दा आफूहरूले उत्पादन गरेको कृषि, हस्तकला र पशुजन्य उत्पादनलाई तिब्बती बजारमा लिएर बेच्ने गरेको हुम्लाका सिमिकोट गाउँपालिका स्थानीय ग्याल्बो लामाले बताए ।

‘नेपालीले चीनको तिब्बतमा फुरुको ब्यापार राम्रो छ । फुरु लगाएतका सहज पहुँचका लागि पहल गरिदिए आर्थिक रुपमा समृद्ध हुने आशामा छन्,’ उनले भने, ‘हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर ताक्लाकोट नजिकै पर्छ । त्यहाँ फुरुको धेरै ब्यापार हुने गरेको छ ।’पहिला तिब्बती बजारमा नेपालबाट गएको फुरु बेच्न सजिलो थिएन ।

तिब्बतको स्थानीय सरकारले नेपाली हस्तकलाका सामानमा भन्सार तिर्न नपर्ने प्रावधान बनाएसँगै यसको कारोबार बढेको नेपाल–चीन उद्योग व्यापार संघका सचिव मैहिमान तामाङले बताए । ‘बार्षिक करोडौँ रुपैयाँ मूल्यको फुरु नेपालबाट तिब्बततर्फ निकासी भइरहेको छन्’ उनले भने,‘यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँले लगायतका जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ ।’

यस्तै, निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानी लगायतका सामान पनि चौरी, भेँडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको बझाङ् काँडा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘बझाङ, दार्चुला र मुगुका वासिन्दाले समेत तिब्बततर्फ होजियारी, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोट लगायतका तिब्बती बजारमा बिक्री गर्दै आएका छन्,’ उनले भने,‘भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ ।’हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्ज्याङ नाकालागएतका तिब्बतका बजारहरुमा भएर बर्सेनि अर्बौं आर्थिक कारोबार हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!