कञ्चनपुरमा कम उमेरमै आमा बन्नेको संख्या बढ्दै

Posted on: 20 Mar, 2018

राजेन्द्र पनेरु/चैत ६, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बढ्दो बालविवाहका कारण उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो छ । 

जनचेतनाको कमी र गरिबीका कारण अधिकांश बालिकाको विवाह किशोरावस्थामै हुने गरेकाले २० वर्षमुनि गर्भवती हुनेको संख्या बढ्दो रुपमा रहेको पाइएको छ । नगरपालिकाको पिपलाडी स्वास्थ्यचौकीमा दश महिनामा जाँच गराउन आएका गर्भवतीमध्ये २७ जनाको उमेर १६ देखि १९ वर्ष रहेको स्वास्थ्यचौकीका प्रमुख दिलीप सिंह साउदले बताउनुभयो । सोही अवधिमा २० वर्ष उमेरका मात्रै ३० गर्भवतीले स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति गराएका छन् । 

उहाँका अनुसार गत वर्ष सोही अवधिमा २६ जना उमेर नपुगेका महिलाले स्वास्थ्यचौकीमा प्रसूति गराएका थिए । झलारी स्वास्थ्यचौकीमा गर्भ जाँच गराउन आएकामध्ये २३ महिलाको उमेर १७ देखि २० वर्षमुनि रहेको पाइएको छ । 

अधिकांश कम उमेरमै आमा बन्नेमा जनजाति र दलित समुदायका बढी छन् । अन्य समुदायका गरीबीको अवस्थामा रहेका परिवारका महिलासमेत गर्भवती भएको देखिएको छ । कम उमेरमै आमा बन्नेहरुमा पाठेघर खस्ने, जन्मने शिशुको तौल कम हुने र विभिन्न प्रकारका प्रजननसम्बन्धी रोग लाग्ने समस्या देखापर्ने गरेको छ,। 

पिपलाडी स्वास्थ्यचौकी प्रसूतिगृहका अनमी कुसुम रानाले बताउनुभयो । “ चेतनाका अभावमा आमाबुबाले उमेर नपुगीकन विवाह गरिदिँदा १९ वर्षमै आमा बनेँ ”, उहाँले भन्नुभयो, “शारीरिक समस्यासँगै बच्चाको तौल कम हुँदा निकै सास्ती खेप्नुप¥यो ।” उमेर नपुगीकनै गर्भवती हुनुहुँदैन भनेर समाजमा जनचेतना फैलाउन आवश्यक भए पनि कम उमेरमा विवाह गर्ने क्रम नरोकिनु दुःखद भएको उहाँले बताउनुभयो । 

प्रसूतिगृहमा सुरक्षित रुपमा प्रसूति हुन आउने उमेर नपुगेका आमाले जन्माएका शिशुको तौल निकै कम हुने गरेको उहाँले बताउनुभयो । “कम तौल जन्मिएका शिशुका आमालाई मायाको अँगालोमा राख्न लगाइने गरिएको छ”, उहाँले भन्नुभयो, “शरीरमा प्रतिरोधात्मक क्षमता कम हुँदा शिशुलाई निमोनियाको समस्या र कुषोषित हुने बढी सम्भावना रहन्छ ।” 

पौष्टिक आहारको कमीका कारण अधिकांश कम उमेरका गर्भवती कुपोषित रहने गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताउनुभयो । 

महिला र पुरुषको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने कानूनी प्रावधान भए पनि यहाँ भने लागू हुनसकेको छैन । कानूनअनुसार बालविवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको व्यवस्था रहे पनि व्यवहारमा भने कडाइ गरेको पाइँदैन । कञ्चनपुरमा मात्रै २० प्रतिशत बालिका र १० प्रतिशत बालकको बालविवाह हुने गरेको अनुमान गरिएको छ । 

बालविवाह गरी कम उमेरमै शिशुलाई जन्म दिने देशको सूचीमा नेपाल दक्षिण एशियामा बंगलादेश र भारतपछि तेस्रो स्थानमा पर्छ । बालकको तुलनामा संंख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनबाट देखिएको छ । 

बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैंगिक र यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता थप हिंसाले बालिका र महिला थप प्रताडित हुने भएकाले यसलाई रोक्नका लागि काम अगाडि बढाइने उपनगर प्रमुख तुलसीदेवी हमालले बताउनुभयो । “बालविवाह रोक्नका लागि जनचेतनासँगै कडा कानून बनाएर लागू गर्छौ” उहाँले भन्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!