फोहर पानी पिउन बाध्य बन्दै डडेल्धुराका ग्रामीण बासिन्दा

Posted on: 22 Mar, 2018

चैत ८, डडेल्धुरा | सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि फोहर पानी पिउन बाध्य बनेका छन् डडेल्धुराका ग्रामीण बस्तीका बासिन्दा । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि खोलानाला वा कुवाको फोहर पानी पिउन बाध्य बनेका हुन् । 

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोलानालाको फोहर पानी प्रयोग गरी रहेको बताउनुहुन्छ । नवदुर्गाको सुनकोट जस्तै अजयमेरुको हाट, अमरगढीको हतर्कालगायतका ठाउँमा खानेपानीको समस्या भोगिरहेका छन् । 

हिउँद नसकिँदै पानीको समस्या आइपरेको र खोलानालाको पानीको भरमा खानेपानीको गुजरा चलाइरहको सुनकोटका लक्ष्मी विकले बताउनुभयो । दुई सय भन्दा बढी परिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्नसक्यो भने खानेपानी पाउने गरेको र नत्र खोलाको फोहरपानीले नै खाना र अन्य कुराका लागि जोहो गर्नुपर्ने बाध्यता रहेको सुनकोटका अर्का महिला राजु भुलले दुखेसो पोख्नुभयो । 

कोटेली गाउँमा नै खानेपानी समस्या रहेको भए तापनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या हुने गरेकोे स्थानीय कलावती भुलले बताउनुभयो । घरको एकजनाले पानी भर्नमा नै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमा नै बस्ने गरेको स्थानीयवासीले जानकारी गराएका छन् । 

दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो । 

धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौं लाइनमा बस्नुपर्ने वा दुई तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी धर्म विकले बताउनुभयो । 

नुहानका लागि समेत पालो कुर्नुपर्ने स्थानीयवासीको भनाइ छ । शौचालय र अन्य सागपातका लागि सिँचाइ सुविधा नभएको स्थानीयवासीले जानकारी गराएका छन् । स्थानीयस्तरमा जनप्रतिनिधि आएपछि खानेपानीको समस्याबाट मुक्त हुने आशा बोकेका सुनकोटका सर्वसाधारण फेरि आफ्ना दुःख उस्तै रहेको बताउँछन् । 

सुनकोटलगायत साविको कोटेली गाविसका धेरै गाउँ खानेपानी समस्या भोग्दै आइरहेका छन् । मूलको विवादका कारण पानी समस्या भएको तर हाल समाधान भएको र अब चाडैं खानेपानी लगायतका योजना सञ्चालन हुने स्थानीयवासी समाज सेवी टेकबहादुर ऐरले बताउनुभयो । 

सुख्खायाम लागेसँगैं ग्रामीण भेगमा पानीका मूलसुकेर जान थालेपछि खानेपानी समस्या देखिन थालेको हो । जथाभावी जंगलकोबिचबाट सडक खन्दा मूलसुक्न थालेको स्थानीयवासीको भनाइ छ । पानीका मूल तथा खोलानालामासमेत पानी कम हुन थालेपछि डडेल्धुरालगायत पहाडी भेगका गाउँबस्तीमा पानीको समस्या देखिन थालेको हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!