महोत्तरीको त्रिशूलीदेवी मन्दिर खुला

Posted on: 25 Mar, 2018

चैत ११, गौशाला | चैते दशैँ र रामनवमीका अवसरमा आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूलीदेवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । 

प्रत्येक वर्ष असोज र चैतको दशैँका बेला गरी दुई पटक मात्रै खोलिने गरेको सो मन्दिर आज एकाबिहानै चैतेदशैँ र रामनवमीका अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । 

त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर अरु बेला खोलिँदैन भने उनको प्रतिमा वर्षभरी कसैले हेर्न वा छुन पाउँदैनन् । असोज र चैतको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था छ । 

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूलीदेवीको मन्दिर महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतका सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । ती ठाउँबाट त्रिशूलीदेवी मन्दिरमा दर्शनका लागि हजारौं भक्तजन आउने गरेका छन् । त्रिशूली मन्दिरमा दर्शन गर्नाले भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!