कृषिको आधुनिकीकरण आवश्यक छ: मन्त्री खनाल

Posted on: 25 Mar, 2018

चैत ११, बागलुङ | कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा व्यावसायिक कृषिमा जोड दिंदै उहाँले भन्नुभयो, ‘‘मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको आधुनिकीकरण आवश्यक छ ।’’ 

छिमेकी मुलुकले कृषिमा यान्त्रिकिकरणसहित ठूलो परिवर्तन ल्याएको भन्दै मन्त्री खनालले नेपालको कृषिलाई पनि प्रतिस्पर्धामा पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘‘निर्वाहमुखी कृषिले हामीले भनेको समृद्धि सम्भव छैन, यसलाई पूरै व्यावसायिक बनाउनुपर्छ’’ उहाँले भन्नुभयो, “अहिलेको सरकारले युवालाई कृषितर्फ आकर्षित गर्न युवामैत्री कृषि कार्यक्रम ल्याउन लागेको छ ।” 

“भूमिलाई चक्लाबन्दी गरेर ठूला कृषि फार्म चलाउनुपर्छ” मन्त्री खनालले भन्नुभयो, “जथाभावी प्रयोग र प्लटिङ्गलाई कडाइका साथ नियन्त्रण गर्छौं ।” 

नेकपा (माओवादी केन्द्र) का नेता समेत रहनुभएका मन्त्री खनालले सरकारले चुनावका बेला गरेका वाचा पूरा गरेरै देखाउने उल्लेख गर्दै आउँदो ५ वर्षभित्रमा विकास र समृद्धिको आधार तयार गर्दै अगाडि जानकारी पनि दिनुभयो । 

मन्त्री खनालले आजै यहाँ जारी चैत्राष्टमी मेला पनि उद्घाटन गर्नुभयो |रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!