बाबु गुरु छोरा चेला बन्ने बाताबरण बन्दै रास्कोटमा

Posted on: 28 Mar, 2018

 चैत १४,कालिकोट। जिल्लाको रास्कोट नगरपालिकाको रमणीय ठाँउ सिप्टी बिशालीमासुविधा सम्पन्न डिजिटल आवाशीय विद्यालय स्थापना गरिने भएको छ । कर्णाली फाउण्डेशनको पहलमा कालिकोट जिल्लाकै रमणीय पर्यटकीयस्थल सिप्टी बिशालीमा डिजिटल प्रविधीसहितको विद्यालय स्थापना गरिन लागेको हो ।

फाउण्डेशनले बुधबार पत्रकार सम्मेलन गरेर उक्त स्थानमा विद्यालयको स्थापना सुरुवात गरिएको जनाएको छ । फाउण्डेसनले विद्यालय स्थापना गर्नका लागि चैत २४ गते रास्कोटमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ । सांस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, नेपालकै चर्चित कलाकारहरु केदार घिमिरे, पुस्कल शर्मा, सुकदेव अधिकारी र मध्यपश्चिमकै चर्चित डान्सर माया मगर लगायतका कलाकारहरु आउने जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई शुल्क प्रतिव्यक्ति ५० र अन्न्यलाई १ सय लाग्ने आयोजकले जनाएको छ । 

कर्णाली फाउण्डेशनका अध्यक्ष तिलक उपाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै कालिकोट जिल्लाको निकै सम्भावना रहेको रास्कोटको पर्यटकीय क्षेत्र सिप्टी विशालीमा सुविधा सम्पन्न आवाशीय विद्यालय, आलु र स्याउको परिकार मात्र पाईने  रिसोर्ट,  ३ स्टार होटेल, नेपालकै ठुलो अनुसन्धान केन्द्र, ध्यान केन्द्र, प्राविधिक शिक्षालय, हर्बल टी फ्याक्ट्री, स्याउ फारम, भैसी फारम र सिप्टीको देउरा पाटनमा नेपालकै ठुलो शिव मन्दिर स्थापना गर्ने जानकारी दिए ।

उनले त्यसका लागि रास्कोट लगायतका मुलुकका बिभिन्न सहरहरुमा च्यारेटी सो, तीन तहका सरकारबाट सहयोग र एनआरएनको सहयोग लिने बताए । उनले कर्णाली फाउण्डेशनमार्फत आगामी २०७५ सालको दशैसम्म सिप्टी बिशालीमा खानेपानी, विद्युत र सडक पु¥याउने र आगामी २ बर्षभित्र सिप्टीमा विद्यालय सञ्चालनमा ल्याउने बताए । उनले भने, ‘यस परियोजनाले रास्कोट नगरपालिकाका पहिलो चरणमा मात्र ५ सय जना स्थानीय नागरिकहरुले रोजगारी पाउनुका साथै बाबु कर्मचारी, छोरो विद्यालय पढ्ने वातावरण बनाईनेछ ।’

कर्णाली प्रदेशका १० जिल्लाका विपन्न, दलित, जनजाती लगायतका विद्यार्थीहरुलाई शत प्रतिशत छात्रवृत्तीको व्यवस्था गर्ने र त्यस बाहिरका विद्यार्थीहरु पढ्न आउन चाहे शुल्क तिर्नुपर्ने बताए । उनले त्यसका लागि रास्कोट नगरपालिकालाई सार्वजनिक जग्गा भाडामा दिन आग्रह गरिएको र नीजि जग्गा खरिदका लागि पनि स्थानीय जग्गा धनीहरुसँग पनि छलफल गरिने बताए ।

उनले सिप्टीमा स्थापना गरिने विद्यालय नेपालकै स्वच्छ हावा पानी, रमणीय ठाँउ र सुविधा सम्पन्न हुने दाबी गरे । सँगै स्थापना गरिने ३ स्टार होटेलमा बिदेशी पर्यटकहरु तान्ने, अनुसन्धान केन्द्रमा मुलुकका सबै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान बस्नको निःशुल्क व्यवस्था गरिदिएर अनुसन्धानका लागि हायर गरिने बताए । उनले त्यसवाफत ती विद्यार्थीहरुले आफुहरुले सञ्चालन गरेको विद्यालयमा दैनिक दुई वटा कक्षा लिनुपर्ने व्यवस्था गर्ने बताए ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!