भैरवी वर्षबन्धको विशेष रौनक शु्रु, आज लिङ्गो उठाइँदै

Posted on: 30 Mar, 2018

चैत १६, नुवाकोट | यहाँको प्रसिद्ध सबैभन्दा ठूलो पर्व ‘सिन्दूरे जात्रा’को विशेष रौनक आजदेखि शुरु हुँदैछ । 

‘जीवित भगवान्’को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पूजारी हरिमानसिंह डंगोल र उहाँको जीवन संगीनीलाई पुज्दै मुलुकमा आगामी वर्ष के हुन्छ भनेर गोप्यरूपले भाविष्यवाणी गर्ने सिन्दूरे जात्राको विशेष महत्वका साथ आज साँझ लिङ्गो उठाएर शुरु हुन लागेको हो । 

धार्मिक तथा सांस्कृतिक महत्व रहेको यो परम्परा मल्लकालीन समयदेखि नै शुरु भएको पाइए पनि पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय हासिल गरेपछि थप व्यवस्थित बनाइएको पाइन्छ । 

फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भई शुरु भएको ‘भैरवी वर्षबन्ध’ अन्तरगत चैत शुक्ल पूर्णिमाको अवसरमा शनिबार देवीघाटमा लाग्ने देवीजात्राका लागि आज अपराह्नदेखि विशेष महत्वका साथ मनाउन लागिएको हो । 

स्थानीयवासीको सहयोगमा श्रीनाथ गण देवीघाटमार्फत परिचालन हुने नेपाली सेनाले आज साँझ बूढी देवताको स्थल र त्यसपछि आजै मध्यरातमा भैरवीदेवी मन्दिर परिसरमा पूजाविधिअनुसार लिङ्गो उठाइने नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । 

लिङ्गो उठाइएपछि उल्लासका साथ शुरु हुने जात्राअन्तर्गत भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिर प्रस्थान गराइन्छ । 

आज लिङ्गो उठाउने, शनिबार भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान् धामी–धामिनीको जालपादेवी मन्दिर प्रस्थान, शनिबार र आइतबार जालपादेवी मन्दिरमा जीवित पशुको भोगबलि, मुलुकमा आगामी वर्ष के हुन्छ भनेर शनिबार राति धामीबाट हुने गोप्य भविष्यवाणी, आइतबार मध्यरातमा देवीघाटबाट फर्केपछि जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल एवं सामाजिक संघसंस्थाको प्रतिनिधिको उपस्थितिमा सोमबार खेलिने सिन्दूर जात्रा मुख्य अकर्षण र महत्वका रुपमा लिइन्छ । 

विदुर नगरपालिका–२ मा रहेको भैरवीदेवी बहिनी र विनपा–५मा रहेको जालपादेवी दिदी हुन् भन्ने मान्यताका साथ एकताको रुपमा हरेक वर्ष भैरवी रथयात्रा गरी दिदीबहिनीको भेट गराएर जात्रा पर्व मनाइने गरिएको द्धारे शाहीले जानकारी दिनुभयो । 

भैरवी रथयात्रा लच्याङका तामाङ सामुदायमार्फत हँुदै आए पनि गएको वर्षदेखि आउन नमानेपछि यसवर्ष श्रीनाथ गणबाट ६० नेपाली सेना परिचालन गरिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!