रोल्पामा बन्यो संस्कृति जोगाउन मगर संग्रहालय

Posted on: 02 Apr, 2018

चैत १९, रोल्पा | मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि रोल्पामा मगर संग्रहालय स्थापना गरिएको छ । मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापना गरेका हुन् । 


घना मगर बस्ती रहेको रोल्पामा कला, संस्कृति, रहन, सहन र वेशभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागिसमेत संग्रहालय स्थापना गरिएको मगर संग्रहालयका अध्यक्ष भीमबहादुर बुढाले बताउनुभयो । 

मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राखिएको सो संग्रहालय अवलोकन गर्नेको संख्यासमेत उल्लेख्य रहेको छ । मगर समुदायले उत्पादन गरेका सामान खरिद तथा बिक्रीको सेवासमेत दिँदै आएको संग्रहालयले आगामी दिनमा सेवा अझै व्यवस्थित बनाउने योजना बनाएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । 


पर्यटन प्रवद्र्धनका लागिसमेत यस्ता संग्रहालय सहयोगी हुने भएकाले यसको थप विकास र प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्ने मगर अगुवाले बताएका छन् । पछिल्लो जनगणनाअनुसार रोल्पामा करीब ४४ प्रतिशत मगरको जनसंख्या छ । आफ्नै भाषा, संस्कृति, वेशभूषा र संस्कार संस्कृति भएका मगरको मौलिकता जोगाइराखे जिल्लाको पर्यटन विकासमा समेत टेवा पुग्ने पर्यटनका जानकार बताउँछन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!