आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं: मन्त्री पुन

Posted on: 03 Apr, 2018

चैत २० म्याग्दी | प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले सहजरुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनुभएको छ । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज गृह जिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाको प्रजनन र सहजरुपमा आमा बन्न पाउने अधिकारलाई सुरक्षित बनाउन नीतिगत पहल गर्ने बताउनुभयो । 

आयआर्जनमूलक कार्यक्रम तथा योजनामा जोड दिँदै मन्त्री पुनले प्रदेशको नियम, ऐन, कानूनलाई जनमैत्री बनाउने बताउनुभयो । प्रदेशको नीति बनाउन विज्ञसँग लगातार छलफलमा जुटिरहेको बताउँदै मन्त्री पुनले चैत २५ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र २९ गते पूरक बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले विज्ञको सुझाव र प्रदेशको वस्तु अवस्थाको अध्ययन गरेर जनताको समस्या समाधान गर्न सकिने किसीमको नीति नियम बनाउन मन्त्री पुनलाई सुझाव दिनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख तथा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसीले म्याग्दीले राजनीतिमा मारेको फड्कोलाई आर्थिक, सामाजिक, भौतिक विकास र जनताको जीवनस्तर रुपान्तरणमा उपयोग गर्नुपर्ने बताउनुभयो । 

राससकर्मी गौतम पुरस्कृत 


जिल्ला सहकारी संघले राष्ट्रिय समाचार समिति (रासस)का म्याग्दी समाचारदाता सन्तोष गौतमलाई सहकारी पत्रकारिता पुरकार प्रदान गरेको छ । ६१औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज बेनीमा आयोजित समारोहमा संघले पत्रकारिताका माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा योगदान गरेबापत नगद रु तीन हजारसहित गौतमलाई पुरस्कार प्रदान गरेको हो।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!