भारतमा बेचिएकी चेली १७ वर्षपछी गुगल म्याप हेर्दै नेपालमा !

Posted on: 04 Apr, 2018

चैत २१, कञ्चनपुर | भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताउनु भएको थिएन । 

पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उहाँलाई भारत पुर्याएर बेचेका हुन् । “यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,” ताराले भन्नुभयो – “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।” 

“डेढ वर्षसम्म रोइ नै रहें, रोएको कसैले सुनेनन्, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हुँदैन” – उहाँले भन्नुभयो । भारतको पन्जाब प्रान्त हुँदै  हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनी सँगै कामीले अहिले घरजम गर्नुभएको छ । यो दम्पतीको अहिले १५ वर्षको छोरो छ । सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो ताराले भन्नुभयो – “छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ ।” 


“यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ,” उहाँले गहभरि आँशु पार्दै भन्नुभयो – “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।” नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु ।” घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार यस गाउँमा किनेर विवाह गर्ने चलन रहेको छ । “धनीले किनेर विवाह गर्छन्, गरिब भए विवाह नै हुँदैन” – उहाँले भन्नुभयो । 

“छोरी अब जीवित छैन भनेर माया मारिसकेका थियौँ,” ताराकी आमा वीरमा कामीले भन्नुभयो – “भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ ।” चेलीबेटी बेचबिखनमा संलग्नको खोजी गरी सरकारले कार्वाही गर्नुपर्ने उहाँले बताउनुभयो । “धेरै चेली गाउँबाट हराएका छन्, सबैको अवस्था पत्ता लगाउनुपर्छ,” उहाँले भन्नुभयो – “दलालहरुको पहिचान गरी न्याय दिन सक्नुपर्छ ।” 

स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै छ जनाभन्दा बढी किशोरी बेपत्ता भएकामा अहिलेसम्म तीन जना मात्रै दलालको पञ्जाबाट छुटेर गाउँ फर्केका छन् । तीन जनाको अवस्था अज्ञात छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!