दुर्गम जिल्ला बाजुराबाट पढाउन भनि राजधानी ल्याइएका ५५ बालबालिका घरेलु श्रममा

Posted on: 04 Apr, 2018

प्रकाश सिलवाल/चैत २१, काठमाडौँ | दुर्गम जिल्ला बाजुराबाट ५५ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । 

गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो । 

समितिका कार्यकारी निर्देशक तारक धितालले त्यसरी प्रयोग हुन विवस बालबालिकालाई उद्धारको प्रक्रिया शुरु भएको बताउनुभयो । “को को कहाँ कहाँ छन् भनेर खोज्ने काम भइरहेको छ, त्यसरी प्रयोग गर्नेलाई कानूनी कारवाहीका लागि पहल गरिने छ,” उहाँले भन्नुभयो । 

उक्त चार महिनाको अवधिमा सबैभन्दा बढी फागुनमा ९६, पुसमा ३० र माघमा १४ जना बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ । बालश्रमको संख्यामा निकै वृद्धि भएकाले आफूहरुलाई चिन्तित बनाएको कार्यकारी निर्देशक धितालले बताउनुभयो । 

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । चौध वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपमा श्रमिकका रुपमा काममा लगाउन हुँदैन । अध्ययन अवधिमा बालश्रमसम्बन्धी १४० वटा घटना सञ्चारमाध्यममा प्रकाशनमा आएका थिए । 

चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कात्तिक) मा १३ वटा बालश्रमसम्बन्धी घटना भएका थिए । बालबालिकालाई श्रममा प्रयोग गरिएको प्रकृतिलाई हेर्दा घरेलु तथा होटलमा श्रमिकका रुपमा सबैभन्दा बढी ४३ प्रतिशत (६० जना) रहेका छन् भने इँट्टा उद्योगमा २६ प्रतिशत (३६ जना) र पढाइ खर्च जुटाउन ३१ प्रतिशत (४४ जना) बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । 

बालश्रममा परेकामध्ये जिल्ला बालकल्याण समिति बाँकेको समन्वयमा जिल्लाका इँटा उद्योगमा गरिएको अनुगमनबाट २० जना (१६ बालक, चार बालिका) बालबालिकालाई उद्धार गरिएको छ । पढाइ खर्च जुटाउने काममा लागेका बालबालिकाको विवरणलाई विश्लेषण गर्दा सल्यानमा बालुवा सङ्कलनमा २४ जना (१६ बालक र आठ बालिका), मकवानपुरमा आठजना बालबालिका राजमार्गमा लालीगुराँस बेच्दै, गोरखामा छजना बालबालिका भरियाका रुपमा रहेको पाइयो भने अन्य छजना खोटो सङ्कलन कार्यमा संलग्न भएको पाइएको थियो । । बालश्रमिकका रुपमा प्रयोग गरिएका बालबालिकामा बालक ५६ प्रतिशत (७९जना) र बालिका ४४ प्रतिशत (६१ जना) छन् । 

उमेर समूहका आधारमा १० वर्ष वा सोभन्दा मुनिका ११ जना, ११ देखि १४ वर्षका ४४ जना र १५ देखि १८ वर्षका ८५ जना रहेका छन् । यस अवधि (मंसिरदेखि फागुन) मा १४० वटा बालश्रमका घटना प्रकाशमा आएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!