कंचनपुरमा वर्षाबाट १ करोड बराबरको काँचो इँट्टाको क्षति

Posted on: 09 Apr, 2018

चैत २६, कञ्चनपुर | लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो ।

महाकाली इँट्टा टायल उद्योग व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९ उद्योगका झण्डै दश लाखभन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ । प्रतिइँट्टाको लागत रु नौदेखि रु १२ सम्म पर्ने गरेको छ । 

इँट्टा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइने गरिन्छ । “लगातार वर्षा होला भनेर सोचेका थिएनौँ”, अध्यक्ष बुडालले भन्नु भयो, “भारतबाट इँट्टा बनाउने मजदुर झिकाएर धमाधम इँट्टा तयार पार्दै थियौँ वर्षाले गर्दा सबै नोक्सानी भएको छ ।” लाखौँका तयारी इँट्टामा प्राकृतिक विपद्बाट नोक्सानी भएपछि मर्कामा परेको उहाँले बताउनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!