प्रवासीको सहयोगमा चितवनका बाढी प्रभावितलाई घर

Posted on: 12 Apr, 2018

चैत २९ चितवन | पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ । 

जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले रु चार लाखभन्दा बढीको लगानीमा १० वटा घर निर्माण गरी प्रभावितलाई हस्तान्तरण गरेको हो । बाँकी अपुग कामका लागि भने उनीहरु आफैँले श्रमदान गरेका थिए । 

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा निर्माण भएको घर बुधबार प्रभावितलाई हस्तान्तरण गरिएको छ । पाँच महिना लगाएर घर निर्माण भएको थियो । 

विदेशमा पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गर्नु सराहनीय कार्य भएको स्थानीयवासीले बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले प्रवासीबाट घर निर्माण भएकामा खुशी व्यक्त गर्दै महानगरको विकासमा अझै सक्रिय भएर लाग्न प्रवासी नेपालीलाई आग्रह गर्नुभयो । 

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत जापानबाट आएको सहयोगले यहाँ १० घर निर्माण भएको बताउनुभयो । अर्को चरणमा अन्य ठाउँका प्रभावितलाई सहयोग गर्ने उहाँको भनाइ छ । 

यहाँका बाढी प्रभावित बुद्धिराज महतो, तारा महतो, सीताराम महतो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महतो, जीवन महतो र यमराज महतोको घर निर्माण भएको हो । 

गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नं १३, २३, २७ र २८ मा बढी क्षति पुर्याएको महानगरपालिकाले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!