प्रधानमन्त्री ओली थिल्ने साङ तामाङको अभिभावक

Posted on: 14 Apr, 2018

बैशाख १, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गर्नुभएको छ । 

मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नं ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका छ वर्षीया छात्रा थिल्ने साङ तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गर्नुभएको हो । विसं २०६८ चैत १९ गते जन्मनुभएकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो । 

छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्नुभएका प्रधानमन्त्रीले तामाङलाई पोशाक र पुस्तक प्रदान गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गर्नुभएको छ । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गर्नुभएको छ । छेरिङ २०६७ माघ १७ गते जन्मिनुभएको हो । 

रारा पर्यटन महोत्सवमा पुग्नुभएका प्रधानमन्त्रीले भर्ना सप्ताह शुरु भएको अवसरमा ती बालिकाको अभिभावकत्व लिँदै विद्यालय भर्ना गरिदिनुभएको हो । 

प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरिसक्नुभएको छ । 


प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र निरक्षरता हटाउने अभियान अन्तर्गत मुगुको मुगुम कार्मारोंग गाउँपालिका–८ निवासी छिजु तामाङ र कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई बुद्ध मावि मांग्री विद्यालयमा भर्ना गर्नुहुँदै । रारा पर्यटन महोत्सवमा पुग्नुभएका प्रधानमन्त्रीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावकत्व लिंदै विद्यालय भर्ना गरिदिनुभएको हो । तस्वीर सौजन्य: प्रधानमन्त्रीको सचिवालय/रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!