महोत्तरीमा आँधीहुरीबाट दुईको मृत्यु

Posted on: 18 Apr, 2018

वैशाख ५ गौशाला | गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७:३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो । 

उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर उनी गम्भीर घाइते भएपछि उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो भने जलेश्वर अस्पतालमा उनको प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको र उपचारकै क्रममा उनको गएराति ९ः३० बजे मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

त्यस्तै, जिल्लाको भंगहा नगरपालिका–५ स्थित सीतापुर खोरिया सडकखण्डमा आँधीहुरी आएकै बेला बाटोमा हिँडीरहेका पहिचान नखुलेका एक पुरुष व्यक्ति सोही सडकखण्डमा रहेको बरको रुखमुनि लुक्न गएकोमा सोही बरको रुख उखेलिएर ढल्दा उनको च्यापिएर मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

नाम, थर, बतन नखुलेका चेक उनी धर्के टिशर्ट, रातो निलो हाप प्यान्ट र कालो प्लाष्टिकको जुत्ता लगाएको अन्दाजी ४०÷४५ वर्षीय पुरुषको वरको रुखमुनि च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!