तेह्रथुममा डिप बोरिङबाट खानेपानी निकाल्न शुरु

Posted on: 19 Apr, 2018

वैशाख ६ तेह्रथुम | खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ । 

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट आज बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो । बोरिङ गर्न शुरु गरेको दुई घण्टामै पानीको पहिलो सतह भेटिएको छ । काठमाडाँैमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्ययन गरी बोरिङको काम शुरु गरेको हो । 

आठराई क्षेत्रको खानेपानीको समस्यालाई हल गर्न झापाको दमकस्थित अर्पिट रियल स्टेट कम्पनीको लगानीमा बोरिङ गरी जमिनमुनिको पानी निकाल्ने काम भएको हो । बोरिङबाट पानी निकाल्न आठराई गाउँपालिका–१ संक्रान्तिबजारको वडा कार्यालयले अर्पिटलाई अनुमति दिएको हो । 

सतहको पानी बोरिङ गरी बाहिर निकाल्न मात्र रु ५० लाख, ट्याङ्की निर्माण र पाइप विस्तारका लागि रु ५० लाख गरी रु एक करोड लगानी हुने अर्पिटका प्रबन्धक भैरव सिटौलाले बताउनुभयो । पानी निकाल्न स्थानीयवासी झुमनाथ काफ्लेले रु ४० लाख मूल्य बराबरको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । 

संक्रान्तिबजारस्थित मालपोत चोकबाट पानी निकाल्ने स्थान झुमेडाँडासम्म केजी निर्माण सेवाले रु आठ लाख लागत बराबरको एक किलोमिटर मोटरबाटो निःशुल्क निर्माण गरिदिएको प्रबन्धक सिटौलाले बताउनुभयो । सुख्खायाम शुरु भएपछि आठराईको संक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गामा खानेपानीको अभाव हुने गर्छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!