म्याग्दीको दरवाङमा टेलिफोन सेवा विस्तार

Posted on: 22 Apr, 2018

वैशाख ९ म्याग्दी | सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ । 

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिनुभयो । 

तारजडित टेलिफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवामा सहज भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

टेलिकमले यसअघि बेनीमा एक हजार २६१, पर्यटकीयस्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाइन तारजडित टेलिफोन वितरण गरेको छ । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले गत चैतसम्म ७२ हजार ५५७ पोष्टपेड र प्रिपेड मोबाइल सिम वितरण गरेको छ । 

असी प्रतिशत जिल्लावासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पँहुच पुगेको शाखा प्रमुख साहले बताउनुभयो । म्याग्दीमा टेलिकमका २५ मोबाइल बिटिएस, पाँच सिडिएमए र चार वाइम्याक्स टावर सञ्चालनमा छन् । यसै महिनाभित्र धौलागिरि गाउँपालिकाको केन्द्र मुना, मंगला गाउँपालिकाको झाँक्रेपानी र बेनी नगरपालिका–२ ज्यामरुककोटमा तीन नयाँ बिटीएस टावर सञ्चालनको तयारी भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!