डडेल्धुराका जंगलमा आगलागी

Posted on: 26 Apr, 2018

वैशाख १३ डडेल्धुरा | बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ । 

जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा आगलागी हुन थालेसँगै आकाश तुवाँलोले ढाक्न थालेको छ । 

जिल्ला वन कार्यालय डडेल्धुराले आगलागी नियन्त्रणका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेको भए पनि सामुदायिक वनका उपभोक्ताले सहयोग नगर्दा वनमा हुने आगलागी नियन्त्रण हुन नसकेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । 

विगतका वर्षभन्दा आगलागीमा केही कमी आएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । सल्लाको पिरोलका कारण वनमा घाँस नपलाउने र गाई गोरु चिप्लिएर लड्छन् भन्ने सोचका कारण स्थानीय उपभोक्ताले नै वनमा आगो लगाउने गरेका छन् । 

आगलागीका कारण वर्षेनी हजारौँ क्यूफिट काठ जलेर नष्ट हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । खोटो संकलन गर्ने कम्पनीहरुले पनि आगलागीलाई नियन्त्रण नगर्ने गरेको जनगुनासो आउने गरेको छ । जिल्लाका कालापथ्थर सामुदायिक वन, त्रिशूल सामुदायिक वनका साथै रुवाखोला र अन्य क्षेत्रमा समेत आगोका कारण वन सखाप भएको उपभोक्ताले जनाएका छन् । 

जिल्ला वन कार्यालय डडेल्धुराले जनचेतना जगाउने काम गरिरहेको भए पनि सामुदायिक वन र खोटो संकलन गर्ने कम्पनीले भने वन विकासका लागि कुनै रकम खर्च नगर्ने गरेको पाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!